Sunday, May 17, 2020

संस्कृत कसरी सिक्ने ? शृङ्खला –४

प्रौढ मानिसहरूको मष्तिष्कमा अनेक कुराहरू अनावश्यकरुपले खेलिरहेका हुन्छन् । व्यावहारिक भारहरू पनि हुन्छन् । अनेक जिम्मेवारीहरू हुन्छन् । फलतः संस्कृतभाषाका श्लोकहरू सुन्दा उनीहरू आनन्दले रोमाञ्चित पनि हुन्छन् । तर आफैँ त्यस भाषामा प्रवेश गरेको एक दुई दिनपछि झिंजो मान्न थाल्छन् । भाग्छन् । तर सबैभन्दा आधारभूत कुरालाई पक्डिएर यहाँ बताइए अनुसारका शब्दहरूका विभक्तिहरूलाई हाँस्दै-खेल्दै याद गर्नुपर्छ । तिनलाई बोल्दै अभ्यास गर्दै जानुपर्छ । त्यसो भयो भने अप्ठेरो हुँदैन । 

शृंखला-३ सम्ममा हामीले थुप्रै पुल्लिंगशब्दहरूका रूप चलाउन जानेका थियौँ । 

भाषामा सबैभन्दा बढी विभक्तिकै प्रयोग हुन्छ । को कसले, कसलाई, कसद्वारा, कसका लागि, कोबाट, कसको, कसमा आदि विभक्तिका रूपहरू हुन् ।

संस्कृतभाषामा स्त्रीलिङ्गी शब्दहरूको रूप केही फरक तरिकाले चल्छ । निरन्तर अभ्यास गर्दा त्यो अप्ठेरो हटेर जान्छ । सामान्यतया टाप् प्रत्यय लागेका आकारान्त शब्दहरू स्त्रीलिङ्गी हुन्छन् । 

रमा                रमे                   रमाः
रमां                रमे                    रमाः
रमया रमाभ्याम्          रमाभिः 
रमायै रमाभ्याम्           रमाभ्यः
रमायाः रमाभ्याम्          रमाभ्यः 
रमायाः रमयोः रमाणाम् 
रमायाम्          रमयोः रमासु 
हे रमे हे रमे हे रमाः 

यसै गरी सीता, रीता, गीता, विद्या, दया, कृपा, गंगा, यमुना, इन्दिरा, शान्ता, कान्ता, उमा, दुर्गा, अम्बिका, महिला, तारा, छाया, कविता, कथा, क्रीडा, आशा, चिन्ता, तृष्णा जस्ता शब्दहरूको रूप रमावत् नै चल्छ । यो केही पनि अप्ठेरो छैन । 

दश वटा स्त्रीलिङ्गी शब्द खोजेर बीस वटा सरल वाक्य बनाउनु होस् । 


यसै गरी इकारान्त स्त्रीलिङ्गी शब्दहरूको रूप फरक तरिकाले चल्छ । जस्तै-

नदी                             नद्यौ                 नद्यः
नदीम् नद्यौ                 नदीः
नद्या                            नदीभ्याम्          नदीभिः
नद्यै                             नदीभ्याम्          नदीभ्यः 
नद्याः नदीभ्याम्          नदीभ्यः 
नद्याः नद्योः                नदीनाम् 
नद्याम्                         नद्योः                नदीषु 
हे नदि हे नद्यौ               हे नद्यः 

सरस्वती, देवी, गौरी, पार्वती, भवानी, लक्ष्मी, नारी, कुमारी, दासी, स्त्री, जननी, पत्नी, महिषी, पुत्री, पृथ्वी जस्ता ईकारान्त स्त्रीलिङ्गी शब्दहरूको रूप पनि यसै गरी चल्छ । 

नेपालीमा नदी बग्छ भन्ने कुरालाई संस्कृतले नदी बग्छिन् भनेर भन्दछ । 

स्त्रीलिङ्गी सर्वनाम 
सा = तिनी 
एषा = यिनी 

सा                    ते               ताः
ताम्                  ते                ताः
तया         ताभ्याम्              ताभिः
तस्यै          ताभ्याम्             ताभ्यः
तस्याः ताभ्याम्            ताभ्यः
तस्याः तयोः  तासाम्
तस्याम्            तयोः तासु 

सा रमा अस्ति । तिनी रमा हुन् ।
ताम् रमां नमतु । ती रमालाई नमस्कार गर ।
तया रमया कृता कविता अस्ति । ती रमाद्वारा लेखिएको कविता हो ।
तस्यै नमः । तिनलाई नमस्कार छ । नमः तस्यै नमः तस्यै नमः तस्यै नमोनमः । 
तस्याः दूरे तिष्ठ । तिनीबाट टाढै बस । सा क्रुद्धा अस्ति । तिनी रिसाएकी छिन् । 
तस्याः नाम किम् ? तिनको नाम के हो ? 
तस्याम् गायनस्य ज्ञानम्  अस्ति । तिनमा गायनको ज्ञान छ । 

केही इकारान्त स्त्रीलिङ्गी शब्दहरू थोरै फरक तरिकाले चल्छन् । जस्तै -

मति:                  मती                 मतयः 
मतिम् मती                मती
मत्या           मतिभ्याम्         मतिभिः
मत्यै/मतये        मतिभ्याम्         मतिभ्यः
मत्याः/मतेः मतिभ्याम्          मतिभ्यः 
मत्याः/मते: मत्योः मतीनाम् 
मत्याम्म/तौ मत्योः मतिषु 
हे मते                 हे मती          हे मतयः 

बुद्धि, मुक्ति, रीति, श्रुति, भक्ति, वृत्ति, मूर्ति, प्रीति, कीर्ति, कान्ति, जाति, रात्रि, भूमि, शक्ति, रुचि, दृष्टि, वृष्टि, सृष्टि, आकृति आदि इकारान्त स्त्रीलिङ्गी शब्दहरू यसै गरी चल्छन् । सजिलो छ ।  


सा देवी । तिनी देवी हुन् । 
सा महिला पाकशास्त्रे कुशलिनी अस्ति । तिनी महिला पाशास्त्रमा निपुण छिन् । 
सा कन्या मनोरमा अस्ति । ती केटी राम्री छिन् । 
सा नारी उत्तमा अस्ति । ती नारी उत्तम छिन् ।
सा विद्या का विद्या या ज्ञानं न ददाति । त्यो विद्या के विद्या जसले ज्ञान दिँदैन । 
सा कन्या चञ्चला अस्ति । ती केटी चञ्चल छिन् । 
युवत्यः उच्चैः हसन्ति । तरुणीहरु बेस्सरी हाँस्छन् । 
नार्यः अनेकानि कार्याणि कर्तुं शक्नुवन्ति । महिलाहरूले अनेक काम गर्न सक्छन् । 

रमा कुत्र गच्छति ? रमा कता जान्छिन् ?
सीता किं करोति ? सीता के गर्छिन् । 
देव्यै नमः । देवीलाई नमस्कार छ । 

संस्कृतभाषामा प्रयुक्त सबै शब्दहरू कुनै न कुनै लिङ्गमा रहेका हुन्छन् । कुन शब्द कुन लिङ्गमा छ वा हुन्छ भनेर जान्नु पर्दछ । अन्यथा व्याकरण दोष भइहाल्छ । तसर्थ पढ्दा लेख्दा ध्यान दियो भने त्यो पनि थाहा भैहाल्छ । यहाँ बताइएका बाहेक अरु थुप्रै प्रकारका स्त्रीलिङ्गी शब्दहरू छन् जसको रूप पनि फरक तरिकाले चल्छन् । तर अहिले प्रारम्भिक चरणमा यति भयो भने अरु आफैँ पनि थाहा पाउन सकिन्छ । शब्दहरू जुनसुकै लिङ्गमा रहे पनि क्रियापदमा भने फरक पर्दैन । तर वचनअनुसार क्रियापदमा फरक पर्छ । जुन वचनमा कर्ता छ सोही वचनमा क्रियापद हुन्छ । यो कुरालाई पछि सिकौँला । 

अब नपुंसक लिङ्गी शब्दहरूबारेमा  जानौँ । जसमा गति छैन र जो आफैँ हिँडडुल गर्न सक्दैन त्यस्तो पदार्थ द्रव्यलाई नपुसकलिङ्गी वर्गमा राखिन्छ । 

ज्ञानम् ज्ञाने                ज्ञानानि
ज्ञानम् ज्ञाने                 ज्ञानानि
ज्ञानेन ज्ञानाभ्याम्         ज्ञानैः
ज्ञानाय            ज्ञानाभ्याम्         ज्ञानेभ्यः 
ज्ञानात् ज्ञानाभ्याम्         ज्ञानेभ्यः
ज्ञानस्य           ज्ञानयोः             ज्ञानानाम्
ज्ञाने              ज्ञानयोः             ज्ञानेषु 
हे ज्ञान हे ज्ञाने हे ज्ञानानि ।

धनम् । वनम् । मन्दिरम् । उद्यानम् । फलम् । भोजनम्। पुस्तकम् । जलम् । पद्यम् । गद्यम् । वस्त्रम् । शरीरम् । मुखम् । हस्तम् । पदम् । मित्रम् । लवणम् । रसम् । व्यञ्जनम् । गगनम् । हृदयम् । नेत्रम् । छत्रम् आदि शब्दहरका रुप पनि ज्ञानवत् चल्छन् । अघिल्ला दुई बाहेक तेस्रोबाट रामः जस्तै गरी चल्ने हुनाले यो पपनि कुनै अप्ठेरो भएन । पहिल्यै जानिसकिएको कुरा हो । 

दश वटा नपुंसक लिङ्गी शब्द खोजेर बीस वटा सरल वाक्य बनाउनु होस् । 

अब केही फरक वाक्यहरू हेरौँ । उदाहरणबाट नै धेरै कुरा जान्न सजिलो हुन्छ । 

हिमालयम् अभितः अरण्यानि सन्ति
हिमालय वरिपरि वनहरु छन् ।

सरोवरं अन्तरा मन्दिरं अस्ति
सरोवरभित्र मन्दिर छ ।

गृहं परितः प्राचीरं अस्ति
घर वरिपरि पर्खाल छ । 

विद्यालयं निकषा उद्यानं अस्ति
विद्यालय नजिकै बगैँचा छ । 

नदीं उभयतः सोपानानि सन्ति
नदीको दुवैतिर सिँडीहरू छन् । 

सरोवरं अन्तरा नीलोत्पलानि सन्ति
तलाउभित्र नीला कमलहरू छन् ।

विद्यालयं समया आपणाः सन्ति
विद्यालय नजिकै पसलहरू छन् ।

सैनिकाः मार्गम् उभयतः अगच्छन् ।
सैनिकहरु बाटाको दुवैतिरबाट गए ।

पितरं अनु पुत्रः गच्छति
छोरो बाबुको पछि पछि जान्छ ।

वृक्षं उपर्युपरि बहुनि फलानि सन्ति
रुखको माथि माथि धेरै फलहरू छन् ।

बालिका मधुरं गायति
बालिका मीठो गरी गाउँछिन् ।

बालः साश्चर्यम् पश्यति
बालः छक्क परेर हेर्छ हेर्दैछ ।

देशं सर्वतः वर्षा भवन्ति
देशमा सबैतिर पानी पर्दैछ ।

मधुः मासं व्याकरणं पठितवान्
मधुले महिना भरी व्याकरण पढ्यो ।

गिरिः द्वियोजनं वर्त्तते ।
पहाड दुई कोश सम्म फैलिएको छ ।

गुरुं विना विद्या नास्ति
गुरु विना विद्या प्राप्त गर्न सकिन्न । 

गृहं गच्छ
घर जाऊ तिमी ।

व्याघ्रः छागं प्रति धावति
बाघ बाख्रालाई लखेट्छ । बाघ बाख्रातिर दौडिदैछ ।

मुर्खं धिक् 
मूर्ख तँलाई धिक्कार छ ।

चासो राखेर पढिदिनु भएकोमा धन्यवाद । अर्को शृङ्खला पनि हेर्न नभुल्नु होला । 


©नरेन्द्र पराशर 
आनन्द आश्रम 
रतुवामाई न.पा. -४
मोरङ्ग



Friday, May 8, 2020

संस्कृत कसरी सिक्ने ? शृङ्खला -३ How to Learn Samskrit part -3


अघिल्लो शृङ्खलामा हामीले अकारान्त एक वचनमा प्रयोग हुने विभक्तिहरूको सही प्रयोगबारे जानकारी हासिल गरेका थियौँ । जसबाट निम्नानुसारका वाक्यहरू बनाउन जानेका थियौँ ।

रामः पुस्तकं पठति । (राम पुस्तक पढ्छ ।)
रामम् अमरनाथः नमति । (अमरनाथले रामलाई नमस्कार गर्छ । )
रामेण पुस्तकम् पठितम् । (रामद्वारा पुस्तक पढिन्छ ।)
रामाय पुष्पम् अर्पयामि । (रामका लागि फूल अर्पण गर्छु ।)
रामात् कः वीरः अस्ति ? (रामभन्दा को वीर छ ?)
रामस्य विचारः कः अस्ति ? (रामको विचार के छ ?)
रामे का विशेषता अस्ति ? (राममा के विशेषता छ ?)

राम शब्दमा प्रयोग भएका सबै विभक्तिहरू निम्न श्लोकमा मीठोसँग प्रयोग भएको छ ।

रामो राजमणि: सदा विजयते  रामं रमेशं  भजे । 
रामेणाभिहता निशाचरचमू रामाय तस्मै नम: ।। 
रामात् नास्ति परायणं परतरं रामस्य दासोस्म्यहम्  । 
रामे चित्तलय: सदा भवतु मे भो राम मामुद्धर ॥

अब गीताको एउटा श्लोक हेरौँ ।

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः

मामका: पाण्डवाश्चैव किमकुर्वत सञ्जय । (गीता १÷१)

धर्मक्षेत्रे = धर्मक्षेत्रमा । (रामे =राममा भनेजस्तै ।)
कुरुक्षेत्रे =कुरुक्षेत्रे । (कुरुक्षेत्रमा)
सञ्जय  =सम्बोधन गर्दा विसर्ग (:) लाग्दैन । (हे राम भनेजस्तै ।)

यो श्लोकलाई केहीबेरपछि फेरि हेर्नेछौँ । अहिले तलको प्रसंगमा जाऊँ । 

हरि यो पुल्लिङ्ग शब्दको बारेमा जान्ने प्रयत्न गरौँ । हरि शब्दको रूप राम शब्दको जसरी चल्दैन । जस्तै –रामको भन्नुपर्दा रामस्य हुन्छ भने हरिको भन्नुपर्दा हरिस्य हुँदैन । हेरौँ के हुन्छ त ।


हरिः         हरी हरयः
हरिम् हरी हरिन्
हरिणा      हरिभ्याम् हरिभिः
हरये  हरिभयाम् हरिभ्यः
हरेः         हरिभ्याम् हरिभ्यः
हरेः         हर्योः हरीणाम्
हरौ         हर्योः हरिषु
हे हरि हे हरी हे हरयः

हरि जस्तै गरी रूप चल्ने इकारान्त पुल्लिङ्गवाची शब्दहरु अग्नि, कवि, छवि, असि, सन्धि आदि ।
तर क्रियापदको रूपमा कुनै फरक पर्दैन । जस्तो–

सः हरिः अस्ति (ऊ हरि हो ।)
हरिः ग्रामं गच्छति । (हरि गाउँ जान्छ ।)
हरिं नमतु । (हरिलाई नमस्कार गर ।)
हरिणा गीतं गीयते । (हरिद्वारा गीत गाइन्छ ।)
तस्मै श्रीहरये नमः । (ती हरिलाई/हरिका लागि नमस्कार छ ।)
हरेः सहयोगेन कार्य करोतु । (हरिको सहयोगले काम गर ।)
हरेः गृहं कुत्र अस्ति ? (हरिको घर कहाँ छ ?)
हरौ भौतिकवादस्य ज्ञानम् अस्ति । (हरिमा भौतिकवादको ज्ञान छ ।)

अब गुरु शब्दको रूप हेरौँ । गुरु अर्थात् उकारान्त  पुल्लिङ्गशब्दको रूप झण्डै झण्डै हरि जसरी नै चल्छ । तर फरक पनि छ । त्यो हेरौँ ।

गुरुः         गुरू            गुरवः
गुरुम् गुरू             गुरून्
गुरुणा गुरुभ्याम्       गुरुभिः
गुरवे गुरुभ्याम्      गुरुभ्यः
गुरोः गुरुभ्याम्     गुरुभ्यः
गुरोः  गुर्वोः           गुरूणाम्
गुरौ         गुर्वोः           गुरुषु
हे गुरो हे गुरू         हे गुरवः

यसै गरी साधु, युयुत्सु, भानु, शम्भु, बन्धु, वटु, जानु, कटु पुल्लिङ्गवाची शब्दहरू ।
तस्मै श्रीगुरवे नमः । (ती गुरुका लागि नमस्कार छ ।) चतुर्थी विभक्तिमा । (गुरुवे नमः भनेको सुन्नु भएको होला त्यो अशुद्ध हो ।)

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय । (गीता १÷१)


धर्मक्षेत्रे कुरुत्रे समवेताः युयुत्सवः ।
मामकाः पाण्डवाः च एव किम् अकुर्वत सञ्जय ।

शब्दानुसार मिलाएर हेर्दा –सञ्जय, धर्मक्षेत्रे कुरुक्षेत्रे समवेताः युयुत्सवः मामकाः पाण्डवाः च एव किम् अकुर्वत ?


युयुत्सुः = लडाइ गर्न चाहने एक जना ।
युयुत्सू = लडाइँ गर्न चाहने दुई जना ।
युयुत्सवः = लडाइँ गर्न चाहने धेरै जना अर्थात् योद्धाहरू । (माथि गुरवः भनेजस्तै ।)
समवेताः = भेला भएकाहरू ( रामः रामौ रामाः वत्) (समवेतः शब्दको बहुवचन ।)
मामका: = मेरा । (मामकः = मेरो ) (रामः रामौ रामाः जस्तै ।)
पाण्डवाः = पाण्डुपुत्रहरू (ले)
= र
एव = पनि । नै ।
किम् = के
अकुर्वत = गरे । (आ. प. प्र. पु. ब.व. लङलकार )

''हे सञ्जय, धर्मक्षेत्र कुरुक्षेत्रमा भेला भएका मेरा र पाण्डुका पनि पुत्रहरूले के गरे ?''

(गीताको पहिलो श्लोकको अर्थ यत्ति हो । बाँकी जति अर्थ लगाए पनि हुन्छ ।) (जस्तो कि धर्म के हो ? क्षेत्र के हो ? किन धर्मक्षेत्र हो ? कुरु को हुन् ? युयुत्सवः भन्ने शब्द नै किन प्रयोग भयो ? आदि । यसको बुझाइ बृहत् हुनसक्छ । तर मूल अर्थ त्यत्ति नै हो ।)


तसर्थ फेरि पनि दोहो¥याएर सम्झिनुहोस् कि विभक्तिअनुसार शब्दहरूको रूप जान्नु प्रथम पाइलो हो ।
हामीले राम, हरि र गुरु शब्दको रूप चलाउन जान्यौँ ।

अब हाम्रो दैनिक जीवनमा प्रयोग भइरहने शब्द अहम् = म पनि हो । यसको रूप कसरी चल्छ हेरौँ ।

एक वचन           द्विवचन            बहुवचन

अहम्        आवाम्                वयम्
माम्          आवाम् अस्मान्
मया  आवाभ्याम्           अस्माभिः
मह्यम् आवाभ्याम्    अस्मभ्यम्
मत्          आवाभ्याम्    अस्मत्
मम         आवयोः                 अस्माकम्
मयि        आवयोः           अस्मासु

(यो अस्मद् शब्द सर्वनाम हुनाको कारणले यसमा सम्बोधन हुँदैन ।)

अहं संस्कृतस्य विद्यार्थी अस्मि । (म संस्कृतको विद्यार्थी हुँ ।) (रामस्य भनेजस्तै )
मां वदतु तत्र किमभवत् ? (मलाई भन त त्यहाँ के भयो ?) (किम्+ अभवत् =किमभवत् ।)
अयं मया कृतः श्लोकः अस्ति । (यो मैले रचना गरेको श्लोक हो ।
मह्यं मदिरां न रोचते  । (मलाई मदिरा मन पर्दैन ।)
भवान् मत् भयभीतः मा भवतु । (हजुर मबाट भयभीत नहुनुहोस् ।) (निषेधाज्ञामा मा अव्यय प्रयोग हुन्छ । जस्तै– मा करोतु =नगर । मा खादतु =नखाऊ । मा क्रीडतु =नखेल आदि । प्रथम पुरुषमा )
मम पुस्तकम् अस्ति । (मेरो पुस्तक हो ।) (एतत् मम उद्यानम् अस्ति । यो मेरो बगैँचा हो ।)
मयि राजनीतिविषयस्य ज्ञानं नास्ति । (ममा राजनीति–विषयको ज्ञान छैन ।)



दैनिक सम्भाषणमा ऊ (सः) पनि धेरै नै प्रयोग हुने भएकोले यसको रूप जानौँ । यो पुल्लिङ्गका लागि मात्र । स्त्रीलिङ्गवाचीका लागि फरक हुन्छ ।)


सः         तौ  ते 
तं               तौ                ते 
तेन   ताभ्याम्           तैः
तस्मै            ताभ्याम्         तेभ्यः
तस्मात्       ताभ्याम्          तेभ्यः
तस्य          तयोः तेषाम् 
तस्मिन्  तयोः तेषु 

ऊ (सः) पनि सर्वनाम भएकोले यसमा सम्बोधन हुँदैन ।

नपुंसक लिङ्गवाची तत् (त्यो) शब्दको पनि तत् ते तानि । तत् ते तानि बाहेक त्रितीया विभक्तिबाट बन्ने रूप समान हुन्छ ।)

सः कः अस्ति ? (ऊ को हो ?)
सः भद्रः शिक्षकः अस्ति । (ऊ असल शिक्षक हो ।)
तेन किं कर्तव्यम् ? तेन नित्यं पठितव्यम् । ( उसद्वारा के गर्नु पर्छ ? उसद्वारा नित्य पढिनु पर्छ ।) (कर्मवाच्यमा ।)
तस्मै श्रीगुरवे नमः । (ती गुरुका लागि नमस्कार छ ।)
तस्मात् कारणात् अहं तत्र न गच्छामि । (त्यस कारण म त्यता जान्नँ ।)
तस्य नाम किम् अस्ति ? तस्य गृहं कुत्र अस्ति ? (उसको नाम के हो ? उसको घर कता हो ?
तस्मिन् कः विश्वासं करोति ? सः तु राजनीतिज्ञः इव अस्ति । (उसमा कसले विश्वास गर्छ र ? ऊ त राजनीतिज्ञजस्तो छ ।)

यसरी पहिलो चरणमा एक वचनमा सरल वाक्यहरू बनाउन सकिन्छ । सँगसँगै बोल्ने अभ्यास पनि गर्नुपर्छ । बोल्ने अभ्यास भएन भने परेको बेला राम रामौ रामाः भन्दै घोकेको कुरा सम्झिन थाल्नुपर्छ । तसर्थ बोल्दै, लेख्दै, पढ्दै गयो भने भाषामाथि तपाईको पकड बलियो हुनजान्छ । भनिएकै छ–

'‘या भाष्यते सा भाषा ।’' जो बोलिन्छ त्यो नै भाषा हो ।

अब आज एउटा श्लोक (सुभाषितम्) पढौँ । पढ्दा जे लेखिएको छ त्यही मात्र पढ्नुपर्छ । त्यसमा कुनै उच्चारण थप्न वा घटाउन पाइदैन । यो नियम हो । यसमा सम्झौता हुन सक्दैन ।

पुस्तकस्था गता विद्या परहस्तगतं धनम् ।
कार्यकाले समुत्पन्ने न सा विद्या न तद् धनम् ।। 

''पुस्तकमा थन्किएको विद्या र अर्काको हातमा गएको धनले (आपत्) परेको बेला काम दिँदैन ।''


यहाँ विद्या शब्द स्त्रीलिङ्गवाची भएकोले सा पुस्तकस्था गता विद्या भनिएको हो ।  धनम्  शब्द नपुंसक लिङ्गवाची भएकोले तत् धनम् भनिएको छ ।

अर्को शृङ्खलामा हामी स्त्रीलिङ्गी शब्दहरूको बारेमा ज्ञान लिनेछौँ ।

यो शृङ्खला पढिदिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद ।

@नरेन्द्र पराशर ।
आनन्द आश्रम
रतुवामाई नगरपालिका -४
मोरङ ।


Wednesday, May 6, 2020

संस्कृत कसरी सिक्ने शृङ्खला -२ How to Learn Samskrit ?

प्रौढहरूले संस्कृत भाषा सिक्नको लागि प्राथमिक प्रस्थान–बिन्दु भनेको विभक्तिहरूको ज्ञान हो ।

विभक्तिहरूको सही ज्ञान र प्रयोगले नै वाक्य निर्माण गर्न सजिलो हुन्छ । गुगलमा सर्च गर्नुभयो भयो भने प्रायः सबै संकृत नामशब्दहरूका विभक्ति प्रयोग भई बनेका ‘शब्दरूपावलि’ पाइन्छन् ।  अघिल्लो शृंखलामा हामीले पुल्लिङ्ग राम शब्दको रूप जानेका थियौँ ।

निम्न कुराहरू जान्नका लागि विभक्ति आवश्यक हुन्छ ।

कसले वा केले ? 
कसलाई वा केलाई ? 
को वा केद्वारा ? 
कसका लागि ? 
को वा केबाट ? 
कसको वा केको ? 
कसमा वा केमा ?

रामले खान्छ । रामलाई नमन गर । रामद्वारा नाचियो । रामका लागि नमस्कार छ । रामबाट पर जाऊ । रामको भाई लक्ष्मण हो । राममा प्रेम गर । जस्तो-

सुरेन्द्रः । (सुरेन्द्र कर्ता हो ।)

उपर्युक्त विभक्तिहरूको ज्ञान र प्रयोगले नै वाक्य निर्माण गर्न सहज हुन्छ ।

वाक्य निर्माण गर्दा क्रियापद पनि सँगसँगै आउने भएकाले केही प्रचलित क्रियापदबाट ती क्रियापदहरू कसरी प्रयोग हुन्छन् भन्ने जान्नुपर्छ । 

पहिले एक वचनमा प्रयुक्त हुने क्रियापदहरू जान्नु पर्छ । जस्तो-

भवति । खादति । चलति । वदति । हसति । गच्छति । आगच्छति । नृत्यति । करोति । वसति । तिष्ठति । रमति । पठति । गायति (गाउँछ) । खनति (खन्छ) । भणति (भन्छ) आदि ।

१. सुरेन्द्रः खादति । (सुरेन्द्रले खान्छ ।)
२. सुरेन्द्रः ओदनं खादति । (सुरेन्द्रले भात खान्छ ।) (जे खाइन्छ वा गरिन्छ त्यो कर्म हो र त्यसमा द्वितीय विभक्ति लाग्छ ।)
३. सुरेन्द्रः प्रातकाले दाडिमफलं खादति । (सुरेन्द्र विहानै (बिहानमा) अनारफल खान्छ ।)
४. सुेन्द्र प्रातकाले दाडिमफलं रुचिपूर्वकेन खादति । (सुरेन्द्रले बिहानै अनारफल स्वाद लिएर खान्छ ।)
५. सुरेन्द्रः काष्ठमण्डपनगरात् ग्रामं गच्छति । (सुरेन्द्र काठमाण्डुनगरीबाट गाउँ जान्छ ।)
६. सुरेन्द्रस्य स्वभावः सुन्दरः अस्ति । (सुरेन्द्रको स्वभाव सुन्दर छ ।)
७. सुरेन्द्रे विश्वासं करोतु । (सुरेन्द्रमा विश्वास गर ।) (प्रथम पुरुष)
८. हे सुरेन्द्र भवान् कुत्र गच्छति ? (हे सुरेन्द्र हजुर कता जानुहुन्छ ? सम्बोधनमा विसर्ग लाग्दैन ।)

यसरी विभक्तिअनुसार संस्कृतमा वाक्य बनाउन र सोही अनुसार बोल्न पनि सकिन्छ । तपाई साथी भाइ वा परिवारका सदस्यहरूसँग हँसीमजाक गर्दै संस्कृतमा बोल्न सक्नु हुन्छ । नबोली भाषा जानिदैन । भाषा जान्नु भनेको कण्ठ पार्नु होइन । तर आधारभूत कुराहरू त कण्ठ नगरी पनि हुँदैन ।

के तपाईले ILETS / GRE जस्ता अंग्रेजीका भाषाकक्षाहरूमा भाग लिनु भयो ? लिनु भएको भए तपाईले धेरै अंग्रेजी शब्दहरू मरिहत्ते गरेर कण्ठ गर्नु भएको कुरा तपाईलाई पक्कै पनि सम्झना भएको हुनुपर्छ । संस्कृतका धेरै शब्दहरू हामी दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौँ । तसर्थ ती शब्दहरूको रूप कसरी चल्छ भन्ने कुरा बुझ्यौँ भने त्यो नै पर्याप्त छ । केही पनि अप्ठेरो छैन ।

हाम्रो दैनिक जीवनमा धेरै प्रयोग हुने शब्दहरूमा ऊ, म, तिमी, हामी हुन् ।

अहम् = म ।
वयम् = हामीहरू ।
त्वम् = तिमी तपाई ।
सः = ऊ÷त्यो ।
भवान् = हजुर तपाई (यो प्रथम पुरुष ऊ सरह प्रयोग हुन्छ ।)

अब हामीले बोल्नु पर्दा मैले, मलाई, मद्वारा, मेरा लागि, मबाट, मेरो, ममा भन्नु पर्दा कसरी भनिन्छ त्यो कुरा जानौँ ।

१. अहं शिक्षकः अस्मि । (म शिक्षकः हुँ । यहाँ अस्मि नभने पनि स्वतः म हुँ भन्ने अर्थ आउँछ ।)ं
२. माम् पश्यतु । (मलाई हेर ।)
३. मया कृतम् सुकार्यम् । (मद्वारा गरिएको सुकार्य हो ।
४. मत् दूरे गच्छतु । (मबाट टाढा जाऊ ।)
५. मम नाम बादलः अस्ति । (मेरो नाम बादल हो ।)
६. मयि तत् ज्ञानं नास्ति । (ममा त्यो ज्ञान छैन ।)


सः = ऊ ।

सः कृषकः अस्ति ।
सः क्षेत्रं खनति ।
सः श्रमं करोति ।
सः अन्नोत्पादनं करोति ।
सः देशस्य आधारस्तम्भः अस्ति ।
परन्तु सः कथं दीनः अस्ति ?
सः ऋणस्य भारेण ग्रस्तः अस्ति ।

सः = ऊ ।
तम् = उसलाई ।
तेन = ऊ द्वारा ।
तस्मै = उसलाई
तस्मात् = त्यस÷ऊबाट ।
तस्य = उसको÷त्यसको ।
तस्मिन् = उसमा वा त्यसमा ।

माथि अहं बाट जसरी स-साना वाक्यहरू बनेका छन् यो सः बाट पनि त्यसै गरी स-साना वाक्य बनाउन सकिन्छ । जस्तो-
१. सः देवः अस्ति । (ऊ देव हो ।)
२. तम्(तं) पृच्छतु तस्य नाम किम् । (त्यसलाई सोध त त्यसको नाम के हो ?) 
३. तेन किम् कर्तव्यम् । (उसद्वारा के गरिनु पर्छ ?) तेन पठितव्यम् (उसद्वारा पढिनुपर्छ )
४. देवाय तस्मै नमः । (ती देवलाई नमस्कार छ ।) रामाय नमः । कृष्णय नमः । शिवाय नमः आदि )
५. तस्मात् भयं नास्ति । (ऊबाट डर छैन ।)तस्मात् कारणात् जानामि ।त्यसको कारणले म जान्दछु ।)
६. तस्य पठनकार्यं सम्यक् नास्ति । (त्यसको पढाइ ठीक छैन ।)
७. तस्मिन् तत् ज्ञानम् अस्ति वा ? (त्यसमा त्यो ज्ञान छ त ?)

यसरी कर्ता कर्म र क्रियापदहरू राखेर वाक्यहरू बन्छन् । जहाँ विभक्तिको ज्ञान अनिवार्य छ ।
शब्दरूपावलि गुगल गरेर खोज्न सक्नुहुन्छ ।

यो श्लोक कण्ठ गर्नुहोस्

नत्वा सरस्वतीं देवीं शुद्धां पुण्यां करोम्यहम् ।
पाणिनीय प्रवेशाय लघुसिद्धान्तकौमुदीम् ।।



शृंखला -२ पढिदिनु भएकोमा धन्यवाद ।

Tuesday, May 5, 2020

संस्कृत कसरी सिक्ने ? How to learn Samskrit ?

संस्कृत कसरी सिक्ने ?
शृंखला -१

संस्कृत भाषाको महत्त्व, मिठास र यस भाषाको व्याकरणमा सन्निहित वैज्ञानिकताको बारेमा लामो लेख तयार हुनसक्छ । संस्कृत भाषामा रहेका सामग्रीहरू पढ्दा वा सुन्दा जुन आनन्द आउँछ त्यसका पछाडि धेरै कारणहरू छन् । ती कारणहरूको चर्चा पछि गर्दै गरौँला । बितेको समयमा संस्कृत पढ्न नपाएका र जीवनको मध्यतिर आइपुग्दा सो भाषाप्रति आश्चर्यलाग्दो गरी आकर्षित भएका प्रौढहरूले कसरी संस्कृतभाषामा बोल्न र लेख्न सक्छन् भन्ने बारे अहिलेयो लेखशृंखला केन्द्रित छ । संस्कृत भाषा कसरी सिक्ने भनेर उपाय बताउनु अगाडि तलका प्रश्नहरूमा केही समय विचार गरौँ ।

१. तपाईले अंग्रेजी भाषा जान्नको लागि करीब कति समय र धन लगानी गर्नु भएको छ <

= प्रतिदिन अंग्रेजी भाषामा के कति कुराहरू पढ्नु वा लेख्नु हुन्छ <

यी प्रश्नहरू यसकारण महत्वपूर्ण छन् कि तपाईले अंग्रेजी भाषा सित्तैमा सिक्नु भएको होइन । तपाईलाई बच्चै बेलादेखि फकाई, फुल्याई, लोभ देखाई, खुशी बनाई वा दण्ड दिएर जबर्जस्ती पढ्न लेख्न लगाइएको थियो । गैरनेपाली भाषीहरूले पनि त्यसैगरी नेपाली भाषा सिकेका हुन् । अर्थात् कुनै पनि भाषा सिक्नु निकै कठिन काम हो, तर असम्भव होइन भन्ने कुराको प्रमाण स्वयं तपाई नै हो । 

तर हामीले सहजै जाने–बुझेको भाषाका हजारौँ शब्दहरू जुन भाषामा पाइन्छन् त्यो भाषा सिक्न त उति अप्ठेरो हुँदैन । त्यसै गरी समान लिपिमा लेखिने र समान प्रकारले बोलिने भाषा सिक्न पक्कै पनि सजिलो हुन्छ । 

नेपाली, हिन्दी, बंगाली, मैथिली, भोजपुरी लगायतका भाषा बोल्नेहरूले त संस्कृत सिक्न कुनै असजिलो छैन । छोटो समयमै यो भाषा सजिलो गरी सिक्न सकिन्छ । 

आज पनि केही मानिसहरू संस्कृत अप्ठेरो र टपरे बाहुनहरूको भाषा हो भनेर हल्ला पिटाउँछन् र आफैँ संस्कृतका श्लोक राखेर टुइट् गर्छन् । यसको मतलब के हो भने संस्कृत भाषामा प्राण’ छ । वास्तवमै संस्कृत भाषामा प्राण छ । त्यसैले नै यो भाषा हजारौँ वर्षदेखि जस्ताको तस्तै कुनै प्रकारले अपभ्रंश नभई बाँचिरहेको छ ।

उसो भए जीवनको प्रौढ अवस्थामा यस्तो जीवन्त र रोमाञ्चकारी भाषा कसरी सिक्ने ?

गुरुकुलमा गुरुकुलीय शिक्षापद्धतिबाट संस्कृत पढाइ हुन्छ । सानो उमेरमै त्यहाँ बालबालिकाहरूलाई विशेष परीक्षा मार्फत् प्रवेश लिइन्छ । 

तथा ती बालबालाहरूलाई दैनिक विशेष आचारमा प्रशिक्षित गर्न थालिन्छ । बिहान सबेरै शय्या त्याग गर्ने, शौच–स्नानादि नित्यकर्मपश्चात् समूह समूहमा विशेष मन्त्रोच्चारणसहित विशेष देवदेवताको पूजा अर्चना गर्ने गराउने गरिन्छ । त्यसपछि विद्यार्थी वटुकहरू गुरुकुलको सरसफाइ, स्वाध्याय वा अन्य काममा व्यस्त रहन्छन् । 

बिहान-बेलुका नित्य सामूहिक भोजनपरम्परा हुन्छ । दानदातव्यबाट प्राप्त अन्नबाट शुद्ध शाकाहारी भोजन गुरुकुलपति–प्रमुख–आचार्य, अन्य आचार्यहरू र सबै विद्यार्थीहरूले उही प्रकारको समान खाना सँगै बसेर खान्छन् । सबैले आ–आफ्ना थाल–बटुका आफैँ सफा गर्छन् । र पुनः पढ्न–पढाउन लीन हुन्छन् ।

यी साना बालबालिकाहरूलाई गुरुकुलमा सबैभन्दा पहिले उच्चारण विधि सिकाइन्छ । शुद्ध उच्चारण संस्कृत भाषाको पहिलो शर्त हो भन्न सकिन्छ । 

त्यसपछि जब विद्यार्थीले सकारात्मक पारा ल्याउँछन् उनीहरूलाई वर्णोच्चारण बारे ज्ञान दिन थालिन्छ । अर्थात् अब विद्यार्थीहरू पाणिनि व्याकरण सिक्नतिर लाग्छन् । पहिले स्वर र व्यञ्जन वर्णहरू सिकाइन्छ । तिनको उत्पत्तिको कारण र स्थानबारे सिकाइन्छ । कुन वर्णहरू के कसरी कहाँ कहाँ स्पर्श गर्दै के कति जोडबलले उच्चारण हुन्छन् र कुन वर्णको उच्चारण गर्दा ओठ, मुख बन्द हुन्छ वा खुला हुन्छ आदिको बारेमा ज्ञान दिइन्छ । 

सँगसँगै बालकहरूले शब्दरूपावलि र धातुरूपावलि पनि पढिरहेका हुन्छन् । माथिल्लो कक्षाका अग्रज विद्यार्थीहरूले तल्लो कक्षाका अनुज विद्यार्थीहरूलाई जुनसुकै बेला पनि जानेका बुझेका कुराहरू सिकाइरहेका हुन्छन् । गुरुले नै सिकाइदिनु पर्छ भन्ने बाध्यता त्यहाँ रहन्न । 

यसरी त्यहाँ भाषा सिक्ने परम्परागत पद्धति छ । जसले संस्कृतभाषालाई जरैबाट बलियो बनाइरहेको हुन्छ । गुरुकुलका विद्यार्थीहरूले गुरुशिष्य परम्पराबाट अनेकौँ विषयका अनेकौँ कुराहरू विना दबाब सिकिसकेका हुन्छन् । 

तर यही प्रक्रियाबाट संस्कृत सिक्नु प्रौढ मानिसहरूका लागि कठिन काम हो । यहाँ हामी केही फरक तरिकाले संस्कृत सिक्ने उपायका बारेमा कुरा गर्नेछौँ । जुन तपाईका लागि काम लाग्ने हुनसक्छ ।

उच्चारण ठीक तरिकाले गर्नु पर्ने भएकोले हामी पनि उच्चारणमा बानी पार्न तलका केही श्लोहरू पढौँ । मनमनै पढेर उच्चारण हुनसक्दैन । तपाईले गतिलो आवाजमा जोड दिएर प्रेमपूर्वक पढ्नै पर्छ । 

यावत् जीवेत् सुखम् जीवेत्
ऋणम् कृत्वा घृतम् पिबेत् ।
भस्मीभूतस्य देहस्य
पुनरागमनम् कुतः ।।

(चार्वाक्)

जतिन्जेल बाँच्ने हो सुखपूर्वक बाँचौँ । ऋण गरेर भए पनि घीउ खाऊँ मरेर देह खरानी भइसकेपछि फेरि फर्केर कताबाट आउँनु <

यो पनि हेर्नुहोस् https://ratopati.com/story/53069

यो श्लोक तपाईले राम्ररी उच्चारण गर्नु भएको हुनुपर्छ । तर कतिपय स्थानमा त सन्धिले यही उच्चारणलाई फरक पारिदिन्छ । त्यतापट्टि अहिले नजाऊँ । अहिले अर्को एउटा श्लोक फेरि हेरौँ । 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानम् श्रृजाम्यहम् ।। -गीता अध्याय ४ श्लोक ७_

जब जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ तब म आफै प्रकट हुन्छु । 

जिब्रो नलटपटाओस् उच्चारण रामरी होस् भन्ने उद्देश्यले पढ्नुहोस् । दोहोर्याएर पढ्नुहोस् र ठूलो ठूलो स्वरले पढ्नुहोस् । 

यी श्लोकहरू पढ्दा कतै तपाईलाई लाज त लागेन ? संसारको सबैभन्दा पुरानो भाषा सिक्ने कुरा हो कसैले केही भनिदिने हो कि भन्ने भयबाट मुक्त हुनुहोस् । संस्कृत हाम्रो भाषा हो  

नखीनाञ्च नदीनाञ्च शृङ्गीणां शस्त्रपाणिनाम्।
विश्वासो नैव कर्तव्यः स्त्रीषु राजकालेषु च ।।  (चाणक्य नीति)

नदीहरुको, नंग र सिंग भएकाहरूको, हतियारधारीहरूको, स्त्रीहरूको र राजकुल-राजनीति गर्नेहरूको कहिल्यै विश्वास गर्नु हुँदैन ।

यो श्लोक स्त्रीद्वेषी पनि छ । सत्य हो । तर चाणक्यको समयमा भएका भीषण युद्धहरूमा युवतिहरूको प्रयोग भएको थियो । हनी ट्र्यापिंग को रूपमा, जासुसी गर्ने गराउने एजेन्टको रूपमा वा अन्य धेरै ठाउँहरूमा । चाणक्यले त्यही प्रसङ्गमा, त्यही कालमा लेखेको यो श्लोकमा महिलाहरूलाई विश्वास नगर्नू भन्नुको तात्पर्य पनि त्यही हुनसक्छ । 

यसरी शब्दोच्चारणमा हाम्रो जिब्रो बानी परोस् । क ख ग घ आदिको वर्णहरूको शुद्ध उच्चारण गर्नका लागि तलको लिंक लाभकारी छ । 


पढ्दै जाँदा उच्चारण पनि आफैँ शुद्ध हुँदै जान्छ । त्यसकारण अब हामी पढ्नतिर लागौँ । 

जन्मिएको एक वर्षसम्म बच्चाले शब्दहरू सुन्छन् । अनि हातगोडा चलाउँदै आमा, बाबा, काका, पापा आदि शब्दहरू उच्चारण गर्न थाल्छन् । अनि उनीहरूले छोटा छोटा वाक्यहरू बोल्न थाल्छन् । जस्तै 

पापा खान्छु । आमा आउनू । माम खान्न । बाबा नजानू ।

अलिपछि थप परिस्कृत वाक्यहरूबोल्न थालछन् । जस्तै- 

राम विद्यालय जान्छ । म घर जान्छु । ऊ राम्रो पढ्दैन । तिमी असल छौ । त्यो केटी बाठी छे । आदि ।

भाषा सिक्ने प्राकृतिक तरिका यही हो । छिपछिपेबाट गहिराइतिरको प्रस्थान । 

माथिको पहिलो वाक्य हेरौँ ।

राम विद्यालय जान्छ । यहाँ राम कर्ता हो । विद्यालय कर्म हो र जान्छ क्रियापद हो । 

संस्कृतमा पनि यस्तै हुन्छ । तर संस्कृतमा जुन सुकै शब्दहरू जहाँसुकै रहे पनि त्यसको मूल अर्थमा फरक पर्दैन । 

रामले खान्छ । रामलाई नमन गर्छु । रामद्वारा रावण मारिए । रामलाई नमस्कार । रामबाट टाढा जाऊ । रामको भाइ लक्ष्मण हो । राममा विश्वास गर । हे राम रक्षा गर । 

यी माथिका विभक्तिरूप थाहै नपाई हामी नेपालीमा बोलिरहेका हुन्छौँ । तर संस्कृत जान्नका लागि यी विभक्तिहरू जान्नु सिक्नु नै पहिलो शर्त हो । यी विभक्तिबारे तपाईले जान्नु अत्यावश्यक छ, अनिवार्य छ ।

संस्कृतमा रामले भन्नु पर्दा त्यस राम शब्दमा अन्य अक्षर थपिदैनन् । त्यही राम शब्द एकपटक चल्छ। जस्तो 

रामः 

यसरी राम शब्दको पछि विसर्ग (ः) राखेपछि स्वतः रामले भन्ने अर्थ आउँछ ।

ऊ राम हो भन्नुपर्दा सः रामः अस्ति । 

रामलाई नमस्कार गर्छु भन्नुपर्दा रामम् नमस्करोमि अहम् ।त्यहाँ रामम् रूप हुन्छ ।

रामद्वारा भन्नुपर्दा रामेण बन्न आउँछ । रामेण रावणः हतः । रामद्वारा रावण मारिए ।

रामलाई वा रामको लागि फूल दिन्छु भन्दा रामाय पुष्पं समर्पयामि ।

रामबाट टाढा जाऊ भन्नुपर्दा रामात् दूरे गच्छतु ।

राममा विश्वास गर भन्नु पर्दा रामे विश्वासं कुरोतु । 

हे राम मलाई रक्षा गर भन्नु पर्दा भो राम माम् रक्षतु ।

यसरी नै राम विद्यालय जान्छ भन्नुपर्दा कस्तो हुन्छ हेरौँ । 
रामः विद्यालयं गच्छति । रामः मन्दिरं गच्छति । रामः आपणं गच्छति । रामः वनं गच्छति । रामः गृहं गच्छति । रामः कार्यालयं गच्छति । रामः मदिरालयं गच्छति । रामः नगरं गच्छति । रामः ग्रामं गच्छति । 

माथिका यी छोटा वाक्यहरूका संरचना समान छन् । कर्ता रामः सबैतिर समान छ । त्यसपछि कर्म अर्थात् ऊ जाने ठाउँका शब्दको पछाडि अम् छ । अर्थात् दोस्रो विभक्ति प्रयोग भएको छ । जहिले पनि कर्ममा द्वितीय विभक्ति प्रयोग हुन्छ ।

सः भोजनं करोति । ऊ भोजन गर्छ ।
सः फलं खादति । ऊ फल खान्छ । 
सः मांसाहारं न करोति । ऊ मांसाहार गर्दैन । 
सः पुस्तकं पठति । ऊ पुस्तक पढ्छ । 
सः जलं पिबति । ऊ पानी पिउँछ ।
सः रोदनं करोति । ऊ रोदन गर्छ । 

तसर्थ जो कर्ता हो त्यसको ठीक पछि विसर्ग लाग्छ । जुन शब्द कर्म हो त्यसको पछि म् हुन द्वितीय विभक्ति लाग्छ । क्रियापदमा कर्ता एक जना मात्र भए क्रियापद पनि एक वचनकै लाग्छ ।  

संस्कृतमा एक वचन, दुई वचन र बहुवचन गरी तीन वचनहरू हुन्छन् । यही कारणले मान्छेहरू संस्कृत भाषासँग बिच्किन्छन् । तर यस्तो व्यवस्थाले संस्कृत लेख्ने बेलामा यसको जादु हेर्न पाइन्छ । सुरु सुरुमा अलि अप्ठेरो लाग्न सक्छ ।

राम शब्दको रूप हेरौँ ।

विसर्ग -M) लाई झण्डै झण्डै ह जस्तो उच्चारण गरिन्छ । यसलाई परित्याग गर्न सकिँदैन । यो विसर्ग -M_संस्कृत भाषाको अभिन्न, अत्याज्य र अनिवार्य अङ्ग हो । 

विभक्ति एक वचन   दुई वचन    बहु वचन

प्रथमा, ले          रामः       रामौ      रामाः
द्वितीया, लाई      रामम्       रामौ          रामान्
तृतीया,   द्वारा    रामेण       रामाभ्याम्    रामैः
चतुर्थी,  लागि     रामाय      रामाभ्याम् रामेभ्यः
पञ्चमी  बाट,     रामात्     रामाभ्याम् रामेभ्यः
षष्टी को          रामस्य      रामयोः रामानाम्
सप्तमी मा       रामे          रामयोः         रामेषु
सम्बोधन        हे राम       हे रामौ         हे रामाः

अकारान्त सबै पुल्लिंग शब्दहरूको रूप यही तरिकाले चल्छ । 

जस्तो कृष्ण, नरेन्द्र, इन्द्र, नारद, शिव, गणेश, कुमार, पराशर, व्यास, धर्म, चन्द्र, बल, विशाल, सरोज, ईश्वर, मूसक, मृग आदि ।


गम् धातु 'जानु' को रूप 

पुरुष       एकवचन       द्विवचन             बहुवचन

प्रथम       गच्छति        गच्छतः             गच्छन्ति
मध्यम      गच्छसि       गच्छथः             गच्छथ
उत्तम      गच्छामि       गच्छावः            गच्छामः




पुरुष     एकवचन          नेपाली

प्रथम           रामः गच्छति राम जान्छ ।

                 रामः गृहम् गच्छति ।

मध्यम त्वम् गच्छसि तिमी जान्छौ ।
उत्तम          अहम् गच्छामि म जान्छु ।

पुरुष           द्विवचन                    नेपाली

प्रथम     रामौ गच्छतः         दुई राम जान्छन् ।
मध्यम    युवाम् गच्छथः तिमी दुई जान्छौ ।
उत्तम    आवाम् गच्छावः      हामी दुई जान्छौँ ।


पुरुष       बहुवचन                     नेपाली

प्रथम       रामाः गच्छन्ति        रामहरू जान्छन् 
मध्यम      यूयम् गच्छथ तिमीहरू जान्छौ 
उत्तम      वयम् गच्छामः हामीहरू जान्छौँ ।

केही थप उदाहरण
पुल्लिङ्ग एक वचन

१. कृष्णः स्थूलः अस्ति । कृष्ण मोटो छ ।
२. श्यामः कृशः अस्ति । श्याम दुब्लो छ । 
३. लक्ष्मणः वनं गच्छति । लक्ष्मण वन जान्छ ।
४. रमेशः कार्यालयं गच्छति ।
५. प्रमोदः पुष्पं चिनोति । प्रमोद फूल टिप्छ ।
६. विकासः शीघ्रं धावति । विकास छिट्टो कुद्छ । 
७. पंकजः शनैः शनैः वदति । पंकज बिस्तारै बिस्तारै बोल्छ ।
८. हरिप्रसादः गीतं गायति । हरिप्रसाद गीत गाउँछ ।
९. नरेन्द्रपराशरः कवितां लिखति । नरेन्द्रपराशर कविता लेख्छ ।
१०. भोलामानः शोकं करोति । भोलामान दुःख मान्छ । शोक गर्छ । 

अब यी र यस्तै प्रकारका अनेकौँ वाक्यहरू बनाउनु होस् । 

बाँकी अर्को शृंखलामा सिक्ने छौँ । तलको एउटा श्लोक शुद्धसँग पुनः पढ्नुहोस् ।


त्यक्त्वा लज्जां भयं त्यक्त्वा वक्तुमिच्छन्ति चेद्यदा ।
शक्नुवन्ति तदा वक्तुं संस्कृतं नास्ति दुर्गमम् ।।

  • नरेन्द्रपराशर


त्वक्त्वा लज्जां  =लाजलाई त्यागेर ।
भयं त्यक्त्वा  =भयलाई त्यागेर ।
वक्तुम् = बोल्न 
इच्छन्ति = इच्छा गर्नुहुन्छ (बहुवचन)
चेत् = यदि 
यदा = जब 
शक्नुवन्ति = सक्नुहुन्छ (बहुवचन) 
तदा = त्यसपछि 
संस्कृतम् = संस्कृत भाषा 
नास्ति = छैन । (न अस्ति इति )
दुर्गमम् = दुर्गम, अप्ठेरो, गमन गर्ने नसकिने । 
धन्यवाद ।

बाँकी अर्को शृंखलामा ।